एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिजको जितले भारतीय क्रिकेट टिमको नयाँ पहिचान बनेको बताएका छन् ।
घरेलु टोली अष्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेष्ट बर्षाको कारण सोमबार बराबरीमा सकिएपछि भारतले सिरिज २ - १ ले जितेको थियो । र, भारतले अष्ट्रेलियाको भूमिमा ७१ बर्षपछि टेष्ट सिरिज हात पार्न सफल भएको थियो ।
अष्ट्रेलियाविरुद्ध ऐतिहासिक जितपछि कप्तान कोहलीले आफ्नो क्रिकेट करियरकै सर्वाधिक ठुलो सफलता आफुले हात पारेको बताउदै यो सफलताले टिमको पहिचान बदलिएको बताए ।
'यो मेरो उपलब्धिहरुको सर्वाधिक ठुलो उपलब्धि हो । हामीले सन् २०११ मा विश्वकप जित्दा म कान्छो सदस्य थिए । मैले मेरो वरिपरिका सबै जना भावुक बनेका थिए तर मैले महसुस गरिन्,' पोष्ट म्याच कन्फरेन्समा बोल्दै कप्तान कोहलीले भने, 'म बुझ्छु हामीले यसअघि गर्न नसकेको उपलब्धि पाएका छौं । हामी यसमा गर्व गर्न सक्छौं । यो जितले हामीलाई भारतीय टीमको फरक पहिचान दिनेछ ।'
अष्ट्रेलियाविरुद्धको सिरिज जितेसंगै कप्तान कोहली घर बाहिर सर्वाधिक धेरै टेष्ट सिरिज जित्ने दोस्रो कप्तान बने । घरबाहिर ४ टेष्ट सिरिज जित्दै कप्तान कोहलीले पुर्व कप्तान सौरभ गांगुलीसंग बराबरी गर्न सफल भएका छन् ।
यस्तै कप्तान कोहलीले भारतीय टिम अहिले राम्रो लयमा गईरहेको बताए ।