एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २ - १ गोल अन्तरले पराजित गरेको हो ।
गेटाफेको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र लूइस स्वारेजले एक एक गोल गरे । गेटाफेका जेमी माटा एक गोल फर्काए ।
खेलको २० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता २ - ० बनाए । त्यसपछि खेलको ४३ औं मिनेटमा गेटाफेका माटाले एक गोल फर्काएपछि पहिलो हाफमा बार्सिलोनाले २ - १ को अग्रता बनायो ।
दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल बार्सिलोनाले २ - १ ले आफ्नो बनायो ।
जितसंगै बार्सिलोनाले शीर्ष स्थानको अग्रता ५ अंकको बनाएको छ । बार्सिलोनाले १८ खेलबाट ४० अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३५ अंक छ । पराजित गेटाफे २५ अंकसहित सातौं स्थानमा छ ।