काठमाडौँ। कप्तान क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकप्रेरित अल नासारले साउदी प्रो लिगमा आभामाथि फराकिलो जित हासिल गरेको छ।
प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा अल नासारले घरेलु टोली आभालाई ८–० गोल अन्तरले पराजित गरेको हो।
अल नासारको जितमा रोनाल्डोले ह्याट्रिक पूरा गरे। यस्तै, अजिज अल–अलिवाहले दुई गोल गर्दा साडियो माने ,अल सुलेहिम र अब्दुल रहमान घारीबको नाममा १/१ गोल रह्यो।
खेलको ११औँ मिनेटमै रोनाल्डोले अल नासारलाई शुरूआती अग्रता दिलाएका थिए। २९औँ मिनेटमा उनले नै अल नासारका लागि दोस्रो गोल गरे।
३३औँ मिनेटमा मानेले गोल गर्दै अल नासारलाई ३–० को अग्रता दिलाए। ४२औँ मिनेटमा रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे।
पहिलो हाफ सकिँनै लाग्दा सुलेहिमले गोल गर्दै अल नासारको अग्रता ५–० मा पुर्याए। उनले रोनाल्डोको पासमा गोल गरेका थिए।
त्यसको ७ मिनेटपछि नै ओटाभियाको पासमा घारीबले गोल गरे। ६३औँ मिनेटमा अलिवाहले गोल गर्दा अल नासारले ७–० को फराकिलो अग्रता लिइसकेको थियो।
८६औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो र टोलीका लागि आठौँ गोल गर्दै गरे।
जितसँगै दोस्रो स्थानमा रहेको अल नासारले २६ खेलबाट ६२ अंक जोडेको छ। जुन शीर्ष स्थानको हल हिलालको भन्दा १२ अंक कम हो।
आभा भने रेलिगेशन जोनमा रहेको छ। समान खेलबाट आभाको २२ अंक रहेको छ।