काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम सिलेट सिक्सर्स बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको पहिलो खेलमा पराजित भएको छ ।
आइतबार सन्दीपको डेब्यु रहेको खेलमा सिक्सर्स कोमीला भिक्टोरियन्ससंग ४ विकेटले पराजित भएको हो ।
ढाकामा सिक्सर्सले दिएको १२८ रनको लक्ष्य भिक्टोरियन्सले १९ ओभर ५ बलमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो ।भिक्टोरियन्सका लागि साहिद अफ्रिदीले अविजित ३९ रन जोड्दा तमीम इकबालले ३५ रन जोडे ।
सिक्सर्सका सन्दीप लामिछाने र अल अमिन हुसेनले समान २/२ विकेट लिए । सन्दीपले डेब्यु खेलमा ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल भएका हुन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको सिक्सर्सले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२७ रन बनाएको थियो ।
सिक्सर्सका लागि निकोलस पूरनले सर्वाधिक ४१ तथा अफिफ हुसेन र आलोक कपालीले समान १९/१९ रन जोडे । सन्दीपले २ बलमा अविजित १ रन जोडे ।
भिक्टोरियन्सका महेदी हसन, मोहमद साहिद र मोहमद साइफुदीनले २/२ विकेट लिए ।