काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको डेब्यु खेलमा चम्किएका छन् ।
सिलेट सिक्सर्सबाट बीपीएल खेलिरहेका सन्दीपले डेब्यु खेलमा २ विकेट लिन सफल भएका छन् । कोमीला भिक्टोरियन्सविरुद्ध डेब्यु गरेका सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल भएका हुन् ।
सन्दीप पहिलो विकेटको रुपमा कोमीला भिक्टोरियन्सका ब्याट्सम्यान सोयब मलिकलाई आफ्नो तेस्रो ओभरमा १३ रनमा क्याच आउट गरेका थिए । यस ओभरमा सन्दीपले १ विकेटसहित ६ रन खर्चिए ।
यस्तै सन्दीपले चौथो ओभरको दोस्रो बलमा इनमुल हकलाई ५ रनमा आउट गर्दै दोस्रो विकेट झार्न सफल भए ।
त्यसअघि सन्दीपले पहिलो र दोस्रो ओभरमा विकेट लिन सकेनन् । पहिलो ओभरमा सन्दीपले ५ रन खर्चिए । दोस्रो ओभरमा सन्दीपले ३ रन खर्चिए ।
यसअघि ढाकामा टस हारेर ब्याटिङ गरेको सिक्सर्सले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । सिक्सर्सका लागि निकोलस पूरनले सर्वाधिक ४१ तथा अफिफ हुसेन र आलोक कपालीले समान १९/१९ रन जोडे ।
ब्याटिङ तर्फ सन्दीपले २ बलमा अविजित १ रन जोडे ।