काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको डेब्यु खेलमा चम्किएका छन् ।
सिलेट सिक्सर्सबाट बीपीएल खेलिरहेका सन्दीपले डेब्यु खेलमा विकेट लिएका छन् । सिक्सर्सले दिएको १२८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको कोमीला भिक्टोरियन्सका ब्याट्सम्यान सोयब मलिकलाई सन्दीपले १३ रनमा आउट गरे ।
सन्दीपले तेस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् । यस ओभरमा सन्दीपले १ विकेटसहित ६ रन खर्चिए ।
सन्दीपले पहिलो ओभरमा ५ रन खर्चिए । दोस्रो ओभरमा सन्दीपले ३ रन खर्चिए ।
यसअघि ढाकामा टस हारेर ब्याटिङ गरेको सिक्सर्सले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । सिक्सर्सका लागि निकोलस पूरनले सर्वाधिक ४१ तथा अफिफ हुसेन र आलोक कपालीले समान १९/१९ रन जोडे ।
बीपीएलको पहिलो खेलमै डेब्यु गरेका सन्दीपले २ बलमा अविजित १ रन जोडे ।