काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटका लागि खेलाडी खरिद बिक्री (अक्सन) शनिबार सम्पन्न भयो ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले आयोजना गरेको अक्सनमा रहेका २ सय ५ खेलाडीबाट कुल ७८ खेलाडी सहभागी ६ टोलीमा आबद्द भए । जसमा ६६ अक्सन, ६ स्थानीय (ट्यालेन्ट हन्ट) र ६ मार्की खेलाडी रहेका छन् ।
प्रतियोगिता आगामी माघ २६ गतेबाट धनगढीमा आयोजना हुदैछ । र, प्रतियोगितामा धनगढी स्टार्स, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्ने छन् ।
अक्सनबाट खेलाडी छनोट गरेपछि सहभागी ६ टोलीले उत्कृष्ट टिम बनाएको दाबी गरेका छन् । अक्सनपछि बोल्दै ६ वटै टिमका मार्की खेलाडी र टिमका प्रतिनिधिले आफुले खोजेको र चाहेको जस्तो खेलाडी पाएको बताएका छन् ।
अक्सनपछि डीपीएलमा सहभागी ६ टोलीका मार्की खेलाडी तथा प्रतिनिधि के भन्छन् ?
बसन्त रेग्मी - रुपन्देही च्यालेन्जर्स
अक्सनबाट धेरै खुसी छौं । हामीले अक्सनमा जे सोचेको थियौं त्यहिँ पायौँ । हामी केहि कुरामा भाग्यमानी रह्यौं । टिमले खोजेको जस्तो टिम बनेको छ ।
सोमपाल कामी – धनगढी स्टार्स
हाम्रो टिम राम्रो भएको छ । टिममा म्याच विनर खेलाडी बढी छन् । त्यसैले हाम्रो आत्मबल बढेको छ । हामी गत वर्ष जस्तै यस पटक पनि खेल्नेछौं ।
शरद भेषावकर - महेन्द्रनगर युनाईटेड
खोजेको जस्तो खेलाडी टिममा पाएका छौ । खुसी छु । टिममा अलराउन्डर बढी छ । यस्तै मिडियम, फास्ट सबै खाले बलर हामीसंग छ । राम्रो गर्छौं जस्तो लागेको छ ।
ज्ञानेन्द्र मल्ल – काठमाडौं गोल्डेन
हाम्रो टिम सन्तुलित बनेको छ । हामीले हाम्रो राम्रो टिम छनोट गरेका छौं । सबैले अक्सनमा राम्रो गर्नु भएको छ । प्रतियोगिताका लागि सबैलाई शुभकामना ।
करण केसी – विराटनगर किंग्स
अक्सन राम्रो भयो, खुसी लागेको छ । हामीले सोचेजस्तो टिम पाएका छौं । केहि टार्गेट गरेको खेलाडी पाएनौ तर हाम्रो टिम राम्रो बनेको छ ।
रजत जंग श्रेष्ठ - सीवाईसी अत्तरीया
हामीले अक्सनबाट मजबुद टिम बनाएका छौं । टिम सन्तुलित छ । अक्सनबाट खुसी छौ । प्रतियोगितामा हाम्रो राम्रो हुन्छ जस्तो लागेको छ ।