काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निलम्बित कमिटिले अदालतमा दायर गरेको मुद्वा फिर्ता लिन निवेदन दर्ता गराएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिको बैठकमा भएको सहमती अनुसार निलम्बित क्यानले दायर गरेको मुद्वा फिर्ता लिन अदालतमा निवेदन दर्ता गराएको हो । मुद्दा फिर्तासंगै नेपाली क्रिकेटको विवाद समाधान उन्मुख देखिएको छ ।
अदालतको मुद्वा फिर्ता नहुदाँ क्रिकेट विवाद समाधानको प्रक्रिया अघि बढ्न सकेको थिएन । आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिले क्रिकेट विवाद समाधानका लागि समय सिमा सहितको ‘रोडम्याप’ तयार गरेको थियो । स्रोतका अनुसार गत महिना डिसेम्बर २६ सम्म अदालतको मुद्वा फिर्ता लिनुपर्ने समयसिमा बनेको थियो ।
‘समयसिमा अनुसार केही दिन तल माथि भएको छ । तर मुद्वा फिर्ता लिन अदालतमा हामीले निवेदन दर्ता गरेका छौ । अदालतले प्रक्रिया पुरा गरेर मुद्वा फिर्ताको बिषयमा निर्णय गर्छ ।’ निलम्बित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले खेलपाटीसंग भने ।
निलम्बित क्यानले मुद्वा फिर्ताको निवेदन दर्ता गराएपछि विवादको मुख्य चुरो जिल्ला निर्वाचनको अन्तिम रिपोर्ट आउन बाँकी छ ।
‘जिल्ला निर्वाचनको बिषयमा स्वतन्त्र कमिटिकाे अन्तिम निर्णय पर्खिएर बसेका छौ ।’ प्याकुरेलले भने, ‘एक हप्ताभित्रमा सो रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढ्नेछ ।’
नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षर र अपारदर्शी निर्वाचनको कारण देखाउँदै आईसीसीले करिब साढे २ बर्ष अगाडी (२०७३ बैशाखमा) नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको थियो ।
प्रतिनिधि विवादको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद राखेपले चतुरबहादुर चन्द नेतृत्वको कमिटिलाई सरकारी मान्यता दिएको थिएन । राखेपले क्रिकेट संघ भंग गर्दै रमेश शिलवाल नेतृत्वमा तदर्थ कमिटि गठन गरेको थियो ।
लगत्तै निर्वाचित कमिटिले २०७२ पुस २८ गते राखेपलाई विपक्षी बनाउँदै अदालतमा मुद्वा दायर गरेको थियो । निर्वाचित कमिटिले जिल्ला निर्वाचनको बिषयमा निर्णय भएपछि मात्र अदालतको मुद्वा फिर्ता लिने बताउँदै आएको थियो ।
स्वतन्त्र कमिटिले बैशाखको अन्तिम साताभित्र क्यानको जिल्ला, प्रदेश हुँदै केन्द्रिय निर्वाचनको मिति घोषणा गर्ने सहमती गरेको छ ।