एजेन्सी । ईङ्लिस एफ ए कपको तेस्रो चरणको खेलमा लण्डन क्लब चेल्सीले आज राति नोटिंघम फोरेस्टसंग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुने खेलमा मिडफिल्डर सेस फाब्रिगासले खेल्न पाउने आश राखेका छन् ।
उनी पछिल्लो समय फ्रान्सेली क्लब मोनाकोसंग जोडिएका छन् । प्रक्रियाले सफलता प्राप्त गरे उनी यसै साता फ्रान्सेली क्लब मोनाको पुग्ने दाबी गरिएको छ । सोही कारण फाब्रिगास घरेलु मैदानमा हुने अन्तिम खेलमा फोरेस्टविरुद्व उत्रन चाहन्छन् ।
नयाँ प्रशिक्षक माउरिजियो सर्री लण्डन क्लब आएपछि फाब्रिगासले कम मौका पाउँदै आएका छन् ।
चेल्सीका मुख्य खेलाडी ओलिभर जिराउड, पेड्रो तथा विलियन चोटका कारण मैदान बाहिर रहनेछन् । मुख्य खेलाडी ईडेन हजार्डलाई प्रशिक्षकले आराम दिने योजना बनाएका छन् । सोही कारण आजको खेलमा युवा खेलाडीले चेल्सीको जर्सीमा मौका पाउनेछन् ।
चेल्सीका सहायक प्रशिक्षक जियानफ्रान्ससो जोलाले हजार्डबारे बोले, ‘उनीले धेरै खेल खेलेका छन् । हामी उनीलाई धेरै चाहन्छौ । मलाई विश्वास छ हजार्डलाई आराम दिईनेछ ।’
आजै हुने तेस्रो चरणको खेलमा म्यान्चेष्टर युनाईटेडले रिडिङसंग खेल्दैछ । म्यान युनाईटेडको जर्सीमा एलेक्सेज साञ्चेज र रोमेलु लुकाकु मैदान उत्रने सम्भावना छ । घरेलु मैदान ओल्डट्राफोर्डमा हुने खेलमा युनाईटेड आफ्नो उत्कृष्ट लयलाई दोह¥याउन चाहन्छ ।