काठमाडौं । न्युरोड टिम एनआरटी केपी ओली कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलको खेलमा जावलाखेल युथ क्लबलाई ३–० गोल अन्तरले हराउँदै एनआरटी फाइनल प्रवेश गरेको हो ।
एनआरटीको जितमा सन्जिव विष्टले दुई तथा विवेक गुरुङ्ग एक गोल गरे ।
खेलमा अग्रता एनआरटीले पाँचौं मिनेटमा विवेकको गोलमा लिएको थियो । दोस्रो हाफमा सन्जिव विष्टले दुई गोल गर्दै एनआरटीलाई फराकिलो जित दिलाए ।
खेलको ४९ औं मिनेटमा पहिलो गोल गरेका सन्जिवले ५६ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा दुई विदेशी सहित १० टिम सहभागी छन् ।