काठमाडौं । चेल्सी एफ ए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार पाँचौं चरणको खेलमा लिड्स युनाईटेडलाई ३–२ गोल अन्तरले हराउँदै चेल्सी अन्तिम ८ मा प्रवेश गरेको हो ।
कोनर गालाघेरले अन्तिम मिनेटमा चेल्सीका लागि विजयी गोल गरे । लिड्समाथि नाटकीय जित सहित चेल्सीले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
पाँचौं चरणको खेल अतिरिक्त समयतिर धकेलिने अपेक्षा गरिएको थियो । तर पेनाल्टी क्षेत्रमा एक्लै रहेका उनले चेल्सीका लागि विजयी गोल गरे ।
पछिल्लो जितले चेल्सीको उपाधि आशलाई जगाएको छ । आईतबारमात्र कारबाओ कपको उपाधि भिडन्तमा चेल्सीले लिभरपुललाई नतिजा सुम्पिएको थियो ।
मौरिसियो पोचिटिनोको चेल्सीले सेमिफाइनल प्रवेशका लागि च्याम्पियनसिपको लिडर लेस्टर सिटीसँग खेल्नेछ ।
अर्जेन्टिनी प्रशिक्षकले गत जुलाईमा चेल्सीको यात्रा प्रारम्भ गरेका थिए । प्रर्दशनमा सुधार देखिएपनि खेलाडीलाई समयको आवश्यकता रहेको उनको भनाई रहदै आएको छ ।
माटेओ जोसेफले आठौं मिनेटमा चेल्सीको डिफेन्सको गल्तीको फाइदा उठाउँदै लिड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । निकोलस ज्याकसनले १५ औं मिनेटमा चेल्सीका लागि बराबरी गोल गरे ।
मायखाइलो मुड्रिकले ३७ औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५९ औं मिनेटमा जोसेफले ब्यक्तिगत दोस्रो गोल गर्दै लिड्सलाई बराबरीमा ल्याएका थिए ।
अन्य खेलमा लिभरपुलले साउथह्याम्टनलाई र म्यानचेस्टर युनाईटेडले नोटिङघम फोरेस्टलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएका छन् ।