फिक्कल । इलाममा जारी प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबलमा फराकिलो जितका साथ सूर्योदय नगरपालिका फाइनल प्रवेश गरेको छ ।
ठुलो टुँडिखेलमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा माईजोगमाई गाउँपालिकालाई ७–१ गोल अन्तरको फराकिलो जित निकाल्दै सूर्योदयले कम्तीमा १ लाख रुपैया सुरक्षित गरेको हो ।
उमेर समुहका राष्ट्रिय खेलाडीले भरिएको सूर्योदयका लागि समिक्षा मगरले ५ र तुलसा बोहराले २ गोल गरिन् । माईजोगमाईकी रश्मि राईले सान्तवना गोल फर्काइन् ।
पहिलो हाफमा ४ गोल गरेको सूर्योदयले दोश्रो हाफमा थप ३ गोल गर्न सफल रहयो । समिक्षाले पहिलो हाफको १०, २९ र ३२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । उनले दोश्रो हाफको ५ र २१ औ मिनेटमा गोल गरिन् ।
बोहराले तेश्रो मिनेटमा सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले दोश्रो हाफको २० औ मिनेटमा व्यक्तिगत दोश्रो गोल गरिन् । माईजोगमाईकी राईले दोश्रो हाफमा १ गोल फकाएकी थिइन् ।
५ गोल गरेकी मगर वुमन अफ दि म्याच घोषित हुँदै नगद ३ हजार प्राप्त गरिन् ।
दोश्रो सेमिफाइनल खेलमा बिहीबार इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका भिड्नेछन् ।
माईभ्याली फुटबल क्लबको आयोजनामा फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा इलामको १० वटा स्थानीय तहका महिला टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।