काठमाडौं । साविक विजेता मछिन्द्र एफसी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार एन्फा कम्प्लेक्स ललितपुरमा नेपाल पुलिस क्लबलाई ४–० गोल अन्तरले हराउँदै मछिन्द्र अन्तिम ४ मा प्रवेश गरेको हो ।
मछिन्द्रले फाइनल प्रवेशका लागि भारतको मानेभन्ज्याङ्ग एफसीसँग खेल्नेछ ।
मछिन्द्रले खेलको सुरुवाती ११ मिनेटभित्र तीन गोलको अग्रता लिएको थियो । पहिलो हाफमै ४–० को अग्रता लिएको मछिन्द्रले पुलिसविरुद्ध सहज जित निकाल्यो ।
खेलमा अग्रता मछिन्द्रले पाँचौं मिनेटमा क्रिस्टोफर चिजोबाको गोलमा लिएको थियो । लगत्तै अर्को मिनेटमा स्टेफन बिनोङ्गले मछिन्द्रको अग्रता दोब्बर बनाए ।
खेलको ११ औं मिनेटमाा चिजोबाले ब्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाएका थिए ।
पहिलो हाफ सकिन ८ मिनेट अघि राम वाजीले आत्मघाति गोल गरेपछि मछिन्द्र ४–० ले अघि बढेको थियो । दोस्रो हाफमा दुवै टिमबाट गोल हुन सकेन, मछिन्द्रले शानदार जित आत्मसाथ गर्यो ।
पुलिसले दोस्रो हाफमा मछिन्द्रमाथि दबाब बढाएपनि गोलकिपर बिशाल श्रेष्ठले सबै प्रयासलाई बिफल पारेका थिए ।
दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले आयोजक केपी ओली फुटबल क्लबलाई हराएको थियो ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा दुई विदेशी सहित १० टिम सहभागी छन् ।