काठमाडौं । टी ट्वान्टी क्रिकेट सिरिजमा नामिबियासँग नेपालले हार ब्यहोरेको छ ।
मंगलबार कीर्तिपुर मैदानमा सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनको हार ब्यहोरेको हो ।
नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छदै १ सय ८६ रनमा अलआउट भयो ।
दीपेन्द्र सिंह ऐरीले ४८ रन बनाएको इनिङ्समा कप्तान रोहित पौडेलले ४२ रन बनाए । कुशल मल्ले ३२ रनको योगदान गरे । सोमपाल कामी २६ रनमा आउट भएका थिए ।
कुशल भुर्तेल डकआउट भएको नेपालको इनिङ्सका अर्का ओपनर आसिफ शेख ६ रनमा आउट भएका थिए ।
गुलसन झा १२, सन्दीप जोरा ५, विवेक यादव ६ र अविनाश बोहोरा शुन्य रनमा पोविलियन फर्किए । करन केसी २ रनमा नटआउट रहे ।
रुबेन ट्रम्पेलमेनले ४ विकेट लिएको खेलमा नामिबियाका लागि बर्नार्ड शोल्ट्ज, जान फ्राइलिन्क र जान निकोनले समान दुई दुई विकेट हात पारेका थिए ।
नेपालको इनिङ्सको पहिलो बलमै कुशललाई डकआउट गरेका ट्रम्पेलमेनले दीपेन्द्र सिंह ऐरीको महत्वपुर्ण विकेट लिएका थिए । अन्तिम विकेटको रुपमा आएका अविनाशलाई बोल्ड गर्दै ट्रम्पेलमेनले खेल आफ्नो पक्षमा पारे ।
यसअघि, कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले ४ विकेटको क्षतीमा २ सय ६ रन बनाएको थियो ।
जान निकोलको शतकीय ईनिङ्समा नामिबियाले नेपालविरुद्ध उच्च स्कोर खडा गरेको थियो । मालन क्रुगरले अविजित ५९ रनको शानदार इनिङ्स खेले । ओपनर माइकल बेन लिन्गन २० रन बनाएर आउट भएका थिए ।
कप्तान रोहित पौडेलले दुई तथा करन केसी र अविनाश बोहराले समान एक एक विकेट लिएका थिए ।
नेपालले सिरिजको दोस्रो खेलमा भोलि बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेल सकिए लगत्तै नेपालले नेदरल्याण्ड्स र नामिबियालाई समावेश गरेर त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।
यस वर्ष टी ट्वान्टी विश्वकप खेल्न लागेको नेपालले प्रतियोगिताको तयारी स्वरुप टी ट्वान्टी सिरिजको आयोजना गरेको हो ।