काठमाडौं । आयोजक टिमलाई हराउँदै जावलाखेल युथ क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपमा सेमिफाइनल प्रवेश गरेको छ ।
मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजक केपी ओली फुटबल क्लबलाई २–१ गोल अन्तले हराउँदै जावलाखेल अन्तिम ४ मा प्रवेश गरेको हो ।
अब फाइनल प्रवेशका लागि जावलाखेलले न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टारलाई हराउँदै एनआरटी यसअघिनै सेमिफाइनल पुगिसकेको छ ।
खेलमा अग्रता जावलाखेल युथ क्लबले ३९ औं मिनेटमा निराजन धामीको गोलमा लिएको थियो । खेल सकिन ९ मिनेट अघि निरज चौधरीले गोल गर्दै जावलाखेललाई २–० ले अघि बढाएका थिए ।
खेलको ८४ औं मिनेटमा अडामा डोम्बियाले आयोजक टिमका लागि एक गोल फर्काएपनि टोलीका हार टार्न सकेनन् ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा दुई विदेशी सहित १० टिम सहभागी छन् ।