फिक्कल । इलाममा जारी प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबलमा सूर्योदय नगरपालिका सेमिफाइनल प्रवेश गरेको छ ।
तेश्रो क्वाटरफाइनल खेलमा सूर्योदयले रोङ गाउँपालिकालाई ४–० गोल अन्तरले हराउँदै सूर्योदय अन्तिम ४ मा प्रवेश गरेको हो ।
सूर्योदयको जितमा समिक्षा मगर, तुलसा बोहरा, सन्जु तामाङ र प्रतिक्षा राईले गोल गरिन् । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोश्रो हाफमा सूर्योदयले गोल गरेको थियो । सात मिनेटको अन्तरमा सूर्योदयले ४ गोल गरेको हो ।
खेलको १६ औ मिनेटमा डिफेन्डरहरुलाई छलाउँदै समिक्षाले सूर्योदयलाई सुरुवाती अग्रता दिलाइन् । तुलसाले खेलको १८ औ मिनेटमा पाएको पेनाल्टीमा जाली चुमाउँदै टिमको अग्रता दोब्बर बनाईन् ।
खेलको २१ औ मिनेटमा वान भर्सेस वानको अवस्थामा रोङकी गोलरक्षक रन्जु राजवंशीलाई विट गराउँदै सन्जुले सूर्योदयका लागि तेश्रो गोल गरिन् । खेलको २३ औ मिनेटमा डिबक्स बाहिर पाएको फ्रिकिक प्रहारलाई प्रतिक्षाले गोलमा परिणत गरेपछि सूर्योदय सेमिफाइनल पुगेको हो ।
फाइनल प्रवेशका लागि सूर्योदयले माईजोगमाई गाउँपालिकासंग प्रतिस्पर्धा गर्नेछ ।
माईजोगमाईले फाकफोकथुम गाउँपालिकालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा मंगलबार इलाम नगरपालिका र माङसेबुङ गाउँपालिका भिड्नेछ ।
समिक्षा खेलको वुमन अफ दि म्याच घोषित भइन् । उनले नगद ३ हजार र ट्रफी प्राप्त गरिन् ।
माईभ्याली फुटबल क्लबको आयोजनामा फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा इलामको १० वटा स्थानीय तहका महिला टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।