एजेन्सी । टोटेनहम हटस्पर इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको तेस्रो चरणमा ट्रानमेरा रोभर्सलाई ७ - ० गोलको फराकिलो जित निकाल्दै टोटेनहमले चौथो चरणमा स्थान पक्का गरेको हो ।
टोटेनहमको फराकिलो जितमा स्पेनिस फरवार्ड फर्नान्डो लोरेन्टेले ह्याट्रिक गरे । यस्तै सेर्गी अरियरले दुई तथा ह्युङ् मिन सन र ह्यारी केनले १–१ गोल गरे ।
पहिलो हाफमा १ - ० ले अघि रहेको टोटेनहमले रोभर्सविरुद्ध दोस्रो हाफमा आधा दर्जन गोल गरेको थियो ।
खेलको ४० औं मिनेटमा सेर्गीले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा लोरेन्टले गोल गर्दै टोटेनहमको अग्रता २ - ० को बनाए । खेलको ५५ औं मिनेटमा सेर्गीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३ - ० को बनाए ।
खेलको ५७ औं मिनेटमा सनले गोल गर्दा टोटेनहम ४ - ० ले अघि रह्यो । ७१ औं मिनेटमा लोरेन्टले व्यक्तिगत दोस्रो गोल गर्दा टोटेनहमको अग्रता ५ - ० को बन्यो । खेलको ७२ औं मिनेटमा लोरेन्टले ह्याट्रिक पुरा गर्दा टोटेनहमले ६ - ० को अग्रता बनायो । त्यसपछि खेलको ८२ औं मिनेटमा लोरेन्टको स्थानमा मैदान छिरेका केनले गोल गरेपछि टोटेनहमले ७ - ० को फराकिलो जित निकाल्यो ।
अवे खेलमा टोटेनहमको यो फराकिलो जित हो । सन् २००९ मा विगानविरुद्ध ९ - १ को जितपछि टोटेनहमले पहिलोपटक फराकिलो जित निकालेको हो ।