धनगढी । गौरीगङ्गा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्बजनिक गरिएको छ।
आयोजक गौरीगङ्गा–११ स्पोर्टस क्लवले फागुन १९ देखि हुने गोल्डकपको खेलतालिका शनिबार सार्वजनिक गरेको हो।
उद्घाटन खेल घोडाघोडी र सुदूरपश्चिम–११ का बीचमा हुने छ। दोस्रो दिन फागुन २० गते स्टार सिटी र बीएस–१५ बीच हुनेछ। २१ गते आयोजक गौरीगङ्गा–११ सित ब्ल्याक एन्जल भिड्नेछ। २२ गते डिडिएससी र फारवेस्ट पशुपती भिड्नेछन् भने २३ गतेदेखि क्वाटर फाइनलका खेल हुनेछन्।
फारवेस्ट स्पोर्टस र रानी वन सिधै क्वाटरफाइनलदेखि मैदानमा हुनेछन्। २५ र २६ गते सेमिफाइनल र २८ गते फाइनल खेल हुने आयोजकले सार्वजनिक गरेको तालिकामा उल्लेख छ।
कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यो सिजन १० टोलीको सहभागितामा हुन लागेको हो। यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।
सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५-१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन्। खेलपाटीले हरेक दिन एकजना दर्शकलाई एउटा टिसर्ट दिनेछ। गौरीगंगाको लिक्मा खेलमैदानमा प्रतियोगिता हुनेछ।
कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।