काठमाडौं । नेपाल वाफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति प्यालेस्टाइनले सिरियालाई १–० ले हराएसँगै नेपालको सेमिफाइनल स्थान पक्का भएको हो ।
समूह बीबाट सेमिफाइनल पुग्ने दुई टिमको टुङ्गो लागेको छ । नेपालसँगै प्लालेस्टाईनले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । समूह चरणमा समान दुई खेलबाट दुवै टिमले समान ६ अंक जोडेका छन् ।
नेपालले समेत समूह चरणको दोस्रो खेलमा इराकलाई ५–० गोल अन्तरले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको थियो । सावित्रा भण्डारीको ५ गोलको सहयोगमा नेपालले इराकविरुद्ध शानदार जित दर्ता गरेको थियो ।
समूह चरणमा अब एक खेलमात्र बाँकी छ । नेपालले समूह विजेता बन्नका लागि प्यालेस्टाईनसँग खेल्नेछ ।प्रतियोगिताबाट बाहिरिसकेका सिरिया र इराक सुखद अन्त्यको लक्ष्य सहित अन्तिम खेलमा उत्रनेछन् ।
समूह एबाट समेत सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । समूहबाट जोर्डन र लेबनान सेमिफाइनल पुग्ने पक्का भएको छ । पहिलो पटक सहभागीता जनाएका साउदी अरब र ग्वाम प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ । जोर्डन र लेवनानले दुई खेलबाट समान ६ अंक जोड्दै तालिकाको शीर्ष दुईमा छन् ।
वेस्ट एसियन फुटबल फेडेरेसनले आयोजना गरेको प्रतियोगिता साउदी अरबमा सञ्चालन भैरहेको छ । नेपालले पहिलो पटक आमन्त्रित देशको रुपमा प्रतियोगितामा सहभागीता जनाएको हो ।