हेटौडा । छैटौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ ।
बिहिबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० गोलले हराउँदै मछिन्द्रले उपाधि जितेको हो ।
योसँगै मछिन्द्रले सिजनको पहिलो उपाधि हात पारेको हो ।
मछिन्द्रको जीतमा विदेशी खेलाडी क्रिष्टोफर चिजोवाले दुई र करिमले एक गोल गरे । खेलको १४ औं मिनेटमा करिमले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए ।
चिजोवाले खेलको दोस्रो हाफको १२ औं मिनेटमा र १८ औं मिनेटमा गोल गरेका थिए । मछिन्द्रले एक गोल भने आत्मघाती रुपमा उपहार पाएको हो ।
दोस्रो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी स्टेफेन समीरको प्रहार एपीएफका डिफेन्डर कुलदीप कार्कीलाई लाग्दै पोस्ट भित्र छिर्यो ।
उपाधि सहित मछिन्द्रले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता टिम एपीएफले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका उत्सव राई घोषित भए । उनले १ लाख १ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै उत्कृष्ट गोलरक्षक मछिन्द्रका प्रदीप भण्डारी, डिफेन्डर एपीएफका कुलदीप कार्की, मिडफिल्डर विशाल तामाङ, फरवार्ड मछिन्द्रका हिसुव थपलिया र प्रशिक्षक मछिन्द्रका सन्तोष न्यौपाने घोषित भए ।
विधागत उत्कृष्ट सबैले २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।