काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगको १२ औं चरणका खेलहरु समाप्त भईसकेको छ । जारी लिगमा अब एक चरणका खेलहरु मात्र बाँकी छन् ।
लिगको १२ औं चरण सकिदा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले उपाधि जितिसकेको छ । मनाङ दुई खेल अगाबै च्याम्पियन बनेको हो । यस्तै सिएमजी संकटा क्लब पनि एक खेल अगाबै उपविजेता भैसकेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पछिल्लो पाँच वर्ष देखि हुन् नसकेको यस लिगलाई (वार्म अप) लिगको रुपमा लिंदै रेलिगेसन नहुने गरि आयोजना गरेको हो ।
तर, पहिलो पटक रेलिगेसन बिना आयोजना भएको लिगलाई प्रतिष्पर्धात्मक बनाउन एन्फाले पुछारमा रहेका दुई क्लबलाई २ र १ अंक घटाउने निर्णय गरेको थियो । यस अर्थमा पुछारमा रहने दुई टिमको अंक अर्को वर्ष आयोजना हुने लिगमा काटिने छ ।
यसपटकको लिगमा अन्तिमको न्यूरोड टिम एनआरटी र मछिन्द्र क्लबलाई ऋण अंकको डर रहेको छ । १२ औं चरणका खेल सकिदासम्म एनआरटीको ६ र मछिन्द्रको ७ अंक रहेको छ । एनआरटी अन्तिम स्थानमा रहदा मछिन्द्र १३ औं स्थानमा छ ।
अन्तिम चरणको खेलमा मछिन्द्रले आर्मीविरुद्ध जित निकालेको खण्डमा अर्काे दुई क्लब फ्रेन्डस् र ब्रिगेडलाई पनि ऋण अंकका डर रहेको छ । फ्रेन्डस् र ब्रिगेडको पनि समान ९–९ अंक रहेको छ । फ्रेन्ड्सले अन्तिम चरणमा मनाङसंग खेल्नेछ ।
अन्तिम चरणको खेलमा एनआरटीले ब्रिगेडको सामना गर्नेछ । यस खेलमा पराजित हुने टिम ऋण अंकको स्थान बनाउने छ । यस्तै मछिन्द्रले अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । यस खेलमा मछिन्द्र पराजित या बराबरीको खण्डमा सिधै ऋण अंकको सामना गर्नेछ ।
मछिन्द्रले जितेको खण्डमा मछिन्द्रको ९ अंक रहने छ । फ्रेन्ड्सले यस अघिको खेलमा मछिन्द्रलाई ३–० ले पराजित गरिसेकेको छ । हेड टु हेड आधारमा मछिन्द्रसँग अंक बराबर बावजुद फ्रेन्डस् अघि रहने छ । यस्तो अवस्थामा मछिन्द्र स्वतः ऋण अंकको स्थानमा रहेको छ ।
मछिन्द्र र एआरटीले जितेमा र फ्रेन्ड्स पराजित भएमा फ्रेन्ड्सलाई अंक घटुवाको डर हुनेछ ।