काठमाडौं । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार एक खेल हुँदैछ ।
बागमती ८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा आयोजक बागमती खेलकुद विकास समिती र ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दुई टिमबिचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
विजेता टोलीले क्वाटरफाइनमा स्थान बनाउनेछ । हिमालयन शेर्पा तेस्रो संस्करणको उपविजेता समेत हो । विजेता टिमले क्वाटरफाइनलमा फाल्गुन ६ गते विभागीय क्लब त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
नकआउट चरणमा सुरु भएको प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ ।
यस संस्करणको विजेताले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।