काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले ग्रानाडासँग बराबरी खेलेको छ ।
आईतबार राति घरेलु मैदानमा बार्सिलोनाले ग्रानाडासँग ३–३ गोलको बराबरी खेलेको हो ।
युवा खेलाडी लामिनी यामलले दुई गोल गरेको खेलमा बार्सिलोना ग्रानाडासँग हारबाट जोगियो ।
१६ वर्षका फरवार्डले सुरुवातमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । रिचर्ड सान्चेजले पाहुना टोलीका लागि बराबरी गोल फर्काए ।
म्यानचेस्टर युनाईटेडका विङगर पेलिस्ट्रीले दोस्रो हाफमा ग्रानाडालाई अग्रता दिलाएका थिए । लगत्तै रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई बराबरीमा ल्याए । ग्रानाडाका इग्नासी मिकेलले पुन पाहुना टोलीलाई ३–२ को अग्रता दिलाउन सफल भएका थिए ।
यामलले ८० औं मिनेटमा ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै बार्सिलोनालाई अंक दिलाउन सफल रहे ।
यामलको उत्कृष्ट प्रर्दशनका बाबजुत बार्सिलोनाले निराशाजनक बराबरी खेलेको छ । पछिल्लो नतिजाले उपाधि होडमा बार्सिलोनालाई गम्भिर धक्का लागेको छ ।
बार्सिलोना शीर्ष स्थानको रियल मड्रिड भन्दा १० अंकले पछि छ । बार्सिलोनाले दोस्रो स्थानको जिरोनासँग दुरी घटाउने अवसर गुमाएको छ ।
बार्सिलोना ५१ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । जिरोना ५६ अंक सहित दोस्रो र रियल मड्रिड ६१ अंक सहित लिगको शीर्ष स्थानका छ । ग्रानाडा १३ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।