एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आज राति एक खेल हुँदैछ । जसमा भिड्दै छन्, दुई शीर्ष क्लब लिभरपुल र म्यानचेस्टर सिटी ।
सिटीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ । यस खेल निकै बहुप्रतिक्षित खेलको रुपमा रहेको छ । किनकि उपाधि होडमा रहेका दुवै टोलीका लागि यस खेल महत्वपूर्ण हुनेछ ।
लिगको तेस्रो स्थानमा रहेको सिटी लिभरपुललाई हराएर उपाधि होड खुल्ला गर्न चाहन्छ । यस्तै उपाधि होडमा आफुलाई उभ्याउन चाहन्छ ।
सिटीले लिगमा ४७ अंक जोडेको छ । र, सिटी लिभरपुलभन्दा ७ अंकले पछि छ । त्यसैले आजको खेल सिटीलाई अंक दुरी कम गर्ने मौका समेत हुनेछ । सिटीले लिगमा ५ हार व्यहोरीसकेको छ ।
यता, लिभरपुल सिटीलाई उसैको मैदानमा स्तब्ध बनाएर उपाधि होड बलियो बनाउन चाहन्छ । लिभरपुल लामो समयपछि उपाधि घरमा भित्र्याउन चाहन्छ । त्यसका लागि लिभरपुलले सिटीविरुद्ध आफ्ना सबै अश्त्र प्रयोग गर्न चाहन्छ । त्यसैले लिभरपुललाई रोक्न सिटीका लागि चुनौती हुनेछ ।
लिभरपुल लिगमा अपराजित रहेको एकमात्र टिम हो । लिभरपुलले २० खेलमा ३ बराबरी गर्दा अन्य खेल जितेको छ । लिभरपुलले ५४ अंक जोडेको छ । लिभरपुल सिटीलाई हराएर आफ्नो अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
दुई टोलीबीचको अघिल्लो भेट भने बराबरीमा सकिएको छ । लिभरपुलको मैदानमा भएको खेलमा गोलरहित बराबरीमा सकिएको थियो ।