काठमाडौं । धनगढी प्रियिमर लिग क्रिकेट डीपीएल खेल्न २ सय ५ खेलाडीले नाम दर्ता गराएका छन् । आयोजक धनगढी क्रिकेट एकेडेमीले उपलब्ध गराएको समयभित्र २ सय बढी खेलाडीले नाम दर्ता गराएका छन् ।
डीपीएलका लागि नाम दर्ताको समय हिजो मंगलबार सकिएको थियो । आयोजक एकेडमीले गत पुस ४ गतेबाट खेलाडी दर्ता प्रक्रिया खुल्ला गरेको थियो ।
खेलाडीले आफ्नो न्युनतम मुल्य सहित प्रतियोगिता खेल्न नाम दर्ता गराएका हुन् । आयोजकले खेलाडीलाई न्युनतम ३० हजार देखि अधिकतम २ लाख ५० हजारसम्मको मुल्य राखेर नाम दर्ताको आह्वान गरेको थियो ।
दर्ता भएका खेलाडीलाई समावेश गर्दै आयोजकले अब खेलाडी लिलामी बिक्री प्रक्रिया अघि बढाउनेछ ।
खेलाडी लिलामी (अक्सन) पुस २२ गते हुने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले खेलपाटीलाई बताए । अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागि टिमले ३ बर्षका लागि अनुबन्धन गर्नेछन् ।
खेलाडीको सेवा सुविधा तथा पारिश्रमिक सहभागि टिमसंगको आपसी सहमतीमा निर्धारण गरिने बताईएको छ ।
डीपीएल आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा सञ्चालन हुनेछ । प्रतियाेगितामा ६ फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।