निजगढ । मधेस प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत शुक्रवार रौतहट र सर्लाही बिजयी भएका छन् ।
कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा सम्पन्न खेलमा सर्लाहीले सप्तरीलाई १ सय ९ रनले हराएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको सर्लाहीले ४१ ओभरमा ८ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो । सर्लाहीका अलि हसनले अर्धशतक बनाए । हसनले ९७ बलमा ६५ रन बनाए । सुभाष पण्डितले ३८ र रन्जित यादवले ३० रन बनाए ।
सप्तरीका राज बर्माले ४५ रन खर्चिएर २ विकेट हात पारे ।
२ सय १९ रनको बिजयी लक्ष्य पछ्याएको सप्तरी २६ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ९ रन मात्र बनाउन सक्यो ।
सप्तरीका नितेश यादवले ४८ बलमा २७ रन बनाए । सर्लाहीका विशाल पटेलले २३ रन मात्र खर्चेर ५ विकेट हात पारे ।
अर्को खेलमा रौतहटले महोत्तरीलाई २ विकेटले हराएको छ ।
बिरगंजको नारायणी रंगशालामा टस जितेर ब्याटिङ रोजेको महोत्तरीले ३७ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ४० रन मात्र बनाउन सक्यो । महोत्तरीका लागि आदित्य मण्डलले ७२ बलमा सर्वाधिक ३३ रन बनाए ।
रौतहटका डब्लु मलिकले ९ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । अरविन्द बैठाले ७ ओभर बलिङ गर्दै २३ रन खर्चिएर २ विकेट लिए । रियाज आलमले ७ ओभरमा ३४ रन दिदै २ विकेट लिए ।
१ सय ४१ रनको बिजयी लक्ष्य पछ्याएको रौतहटले ३४ दशमलव २ ओभरमा ८ विकेट गुमाउँदै १ सय ४२ रन बनाएर लक्ष्य भेट्टायो । रौतहटका डब्लु मलिकले अलराउन्ड प्रदर्शन गर्दै अर्धशतक बनाए । मलिकले ७५ बलमा ५० रन बनाए ।
महोत्तरीका अभिषेक तिवारिले ८ दशमलव २ ओभरमा ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । निशान्त राउत क्षेत्रीले ७ ओभरमा ३२ रन दिदै २ विकेट लिए । रमेश कुमार सहनीले ९ ओभरमा २ मेडन सहित २८ रन खर्चिएर १ विकेट हात पारे ।
रौतहटका अलराउन्डर डब्लु मलिक खेलको प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत शनिबार कलैयाको सिद्धेश्वरमा रौतहट र धनुषा तथा बिरगंजको नारायणी रंगशालामा सर्लाही र सिरहाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकोलागि मधेस प्रदेशको टोली छनोट हुने प्रतियोगिता पुस २५ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा मधेसका ८ वटा जिल्लालाई २ वटा समुहमा बिभाजन गरिएको छ । समूह ए मा पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला रहेका छन् । समूह बीमा बारा, सर्लाही, सिरहा र सप्तरी रहेका छन् ।