काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगको चौथो खेलमा मध्यम प्रदर्शन गरेका छन् ।
मेलबर्नमा डर्बी क्लब मेलबर्न रेनेगेड्सविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चिएर १ विकेट लिए । अघिल्ला तीन खेलको तुलनामा सन्दीपले चौथो खेलमा बढी रन खर्चिएका छन् ।
चौथो खेलमा एक विकेट लिने क्रममा सन्दीपले मेलबर्न रेनेगेड्सका कप्तान टम कोपरलाई बोल्ड आउट गरे । कोपर १० रनमा आउट भए । सन्दीपले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् । यस ओभरमा सन्दीपले ४ रन मात्र खर्चिए ।
पहिलो ओभरमा सन्दीपले ११ रन खर्चिए । यस्तै तेस्रो ओभरमा ७ रन खर्चिएका सन्दीपले चौथो ओभरमा ९ रन खर्चिए ।
योसंगै सन्दीपले बिग बासको ४ खेलमा ८ विकेट लिन सफल भएका छन् ।
यसअघि सन्दीपले डेब्यु खेलमा २ विकेट लिएका थिए । यस्तै दोस्रो खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिएका थिए । तेस्रो खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर २ विकेट लिएका थिए ।
अब सन्दीप मेलबर्नको टिममा हुने छैनन् । सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आउने छन् । सन्दीपले स्यलहेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग खेल्ने छन् ।
बंगलादेश प्रिमियर लिग पछि सन्दीप नेपाली टोलीमा सामेल हुनेछन् । नेपालले माघमा युएईसंग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।