एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन ब्रेन ह्यामरेजको सफल उपचारपछि पहिलोपटक क्लबको ट्रेनिङ गर्ने मैदानमा उपस्थित भएका छन् ।
गत मे महिनामा ब्रेन ह्यामरेजको आकष्मिक शल्यक्रिया गरेका पुर्व प्रशिक्षक फर्गुसन टिमको मनोबल बढाउँन शनिबार ट्रेनिङ मैदान पुगेका हुन् । ट्रेनिङ मैदानमा पुगेका फर्गुसनले पुर्व स्ट्राइकर तथा केयर टेकर प्रशिक्षक ओले गुनर सोल्सायरलाई भेटेका थिए ।
'उनले (फर्गुसन) ले ट्रेनिङ मैदानमा रमाइलो गरेका छन्,' केयर टेकर प्रशिक्षक सोल्सायरले भने, 'टिम स्टाफसंग उनले राम्रो कुराकानी गरेका छन् र उनले हामीलाई प्रोत्साहन दिएका छन् ।'
यस सिजन खराब प्रदर्शन जारी रहेपछि मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गर्दै युनाइटेडले सोल्सायरलाई प्रशिक्षकको जिम्मा दिएको थियो । सोल्सायरको नेतृत्वमा युनाइटेडले लगातार तीन खेल समेत जितिसकेको छ ।
७७ बर्षीय पुर्व प्रशिक्षक फर्गुसन यसअघिका प्रशिक्षक डेभिड मोएस र लुइस भान गाल र जोसे मौरिन्होको पालामा ट्रेनिङ मैदान पुगेका थिएनन् ।
युनाइटेडको सफल प्रशिक्षक फर्गुसनले सन् २०१३ बाट प्रशिक्षण जीवनबाट सन्यास लिएका थिए । फर्गुसनले सन् १९८६ बाट २०१३ सम्म म्यानचेस्टर युनाइटेडको प्रशिक्षक सम्हालेका थिए ।
युनाइटेडमा २६ बर्ष रहदा फर्गुसनले क्लबलाई ३८ उपाधि दिलाएका थिए । फर्गुसनले युनाइटेडलाई १३ प्रिमियर लिग, २ च्याम्पियन्स लिग र ५ एफए कप उपाधि दिलाएका थिए । यस्तै फर्गुसनले ४ लिग कप पनि युनाइटेडलाई दिलाएका थिए ।