एजेन्सी । फ्रेन्च मिडफिल्डर समिर नासरी इंग्लिश क्लब वेष्ट ह्याम युनाइटेडमा अनुबन्धित भएका छन् । १८ महिने डोपिङ प्रतिबन्धबाट फुकुवा भएपछि नासरीलाई वेष्ट ह्यामले अनुबन्ध गरेको हो ।
पुर्व म्यानचेस्टर सिटी र आर्सनलका मिडफिल्डर नासरी गत बर्षको ३१ जनवरीबाट क्लब बिहिन भएका थिए । उनले ३१ जनवरीमा टर्किस क्लब एन्टाल्यास्पोर छाडेका थिए ।
३१ बर्षिय नासरीले यस सिजनको अन्तिमसम्मको लागि वेष्ट ह्यामसंग सम्झौता गरेका छन् । प्रिमियर लिग क्लबमा अनुबन्धित भएपछि नासरीले मैदान उत्रन आफु निकै उत्साहित रहेको बताएका छन् ।
'संसारकै सर्वाधिक प्रतिस्प्रधात्मक लिगमा फर्किएको छु । टिम र म्यानेजर महत्वकांक्षा मलाई थाहा छ । र, म यसमा निकै उत्साहित छु,' नासरीले भनेका छन् ।
नासरीले यसअघि २ पटक प्रिमियर लिगको उपाधि जितेका थिए । उनले प्रिमियर लिगमा २१५ खेल खेलेका थिए ।
नासरीले सन् २००८ देखि २०११ सम्म आर्सनलबाट खेलेका थिए । त्यसपछि सन् २०१८ सम्म म्यानचेस्टर सिटीबाट खेलेका थिए ।
नासरीलाई गत फेब्रुवरीमा फिफाको एन्टी डोपिङ नियम उलंघन गरेको भन्दै युईएफएले प्रतिबन्ध लगाएको थियो ।