काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको चौथो खेलमा आज (मंगलबर ) मेलबर्न रेनेगेड्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
मेलबर्नमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह २:०० बजे सुरु हुनेछ । मेलबर्न रेनेगेड्सविरुद्ध मैदान उत्रदा मेलबर्न स्टार्स पहिलो जितको खोजीमा हुनेछ । रेनेगेड्स भने तेस्रो जितको खोजीमा हुनेछ ।
सुरुवाती दुई खेलमा पराजित भएको मेलबर्न स्टार्सले तेस्रो खेलमा जित निकालेको थियो । मेलबर्न स्टार्स ३ खेलबाट २ अंक जोडेर लिगको छैटौं स्थानमा छ । ३ खेलबाट ४ अंक जोडेको मेलबर्न रेनेगेड्स दोस्रो स्थानमा छ ।
रेनेगेड्सविरुद्धको खेलमा नेपाली टोलीका युवा लेग स्पिनर टिममा पर्ने सम्भावना बलियो रहेको छ । अघिल्ला तीन खेलमा उच्च प्रदर्शन गरेको कारण सन्दीप पहिलो रोजाईमा हुनेछ ।
सन्दीपले बिग बासको तीन खेलमा ७ विकेट लिईसकेका छन् । सन्दीपले डेब्यु खेलमा २ विकेट लिएका थिए । यस्तै दोस्रो खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिएका थिए । तेस्रो खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर २ विकेट लिएका थिए ।
चौथो खेलपछि भने सन्दीप मेलबर्नको टिममा हुने छैनन् । सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आउने छन् । सन्दीपले स्यलहेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग खेल्ने छन् ।