काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज बिहीबार एफसी चितवन र एफसी बुटवल लुम्बिनी भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुनेछ ।
दुवै टिम प्रतियोगिताको आफ्नो चौथों खेल खेल्दैछन् । दुवै टिमको समानता भनेको दुवै टिमले अहिलेसम्म एउटा मात्र खेल जितेका छन् । त्यो पनि तेस्रो खेलमा दुवैले पहिलो जित भेट्टाएका हुन् ।
चितवनले विरगञ्जलाई स्तब्ध बनाएको थियो । सबैभन्दा महत्वपुर्ण कुरा चितवनमा खेलाडीको तालमेल गज्जब देखिन्थ्यो । त्यसले प्रशिक्षकलाई खुसी पनि बनाएको छ ।
बिमल र्घितगर, नवयुग श्रेष्ठ, रोशन राना मगर जस्ता युवा खेलाडी तथा टोरिक जयाब्रिन, मार्को इभानिभिच जस्ता विदेशी खेलाडीको प्रभाव रहेको चितवन विस्तारै लयमा आएको देखिन्छ ।
बुटवलले पछिल्लो खेलमा सिकार गर्यो, इलामको । त्यसमा सबैभन्दा चर्चा कप्तान एरिक विष्टको फ्रि–किक गोलको भयो । तर बुटवल विस्तारै प्रतियोगितामा प्रभाव जमाउँदै लगेको देखिन्छ ।
मिडफिल्ड बुटवलको शसक्त छ । विदेशी खेलाडीपनि राम्रै छन् । बुटवलले कुनैपनि टिमलाई स्तब्ध गराउन समक्ष देखिन्छ । यद्धपी पहिला दुई खेल उसका लागि सहज देखिएन ।
दुवै टिम चौथों खेलमा जित निकाल्दै शीर्ष चारको यात्रा सहज बनाउन चाहन्छन् । त्यसका लागि दुवै टिमलाई चाहिएको छ, जित ।
चितवन ४ अंक सहित पाँचौं स्थानमा छ । बुवटल ३ अंक सहित सातौं स्थानमा छ ।