काठमाडौं । रियल मड्रिडका डिफेन्डर डानी कार्भाजलले चोट बोकेका छन् ।
उनको बायाँ खुट्टाको मांशपेशीमा चोट लागेको छ । कार्भाजल करिब एक महिना मैदान बाहिर रहने देखिएको छ ।
शनिबार ग्रानाडाविरुद्ध प्राप्त २–० को जितमा रियलका खेलाडीले चोट बोकेका थिए । उनी यस सिजन करियरकै उत्कृष्ट फर्ममा देखिएका छन् । उनले सबै प्रतियोगितामा १७ खेलमा रियलका लागि प्रतिनिधित्व गरेका छन् ।
उनी ला लिगाको खेलमा हाफमा मैदान बाहिरिएका थिए । उनको स्थानमा लुकास भाजक्विेज मैदान छिरेका थिए ।
रियलका राइट ब्याक पनि लामो समय चोट बोक्ने खेलाडीको सूचिमा थपिएका छन् । यसअघि थिवाउट कोर्टोइस, एडर मिलिटाओ, ओरेलियन टचोमेनी, एडुआर्डो कामाभिङ्गा, लुका मोड्रिक, अर्दा गुलेर र भिनिसियस जुनियर चोटका कारण मैदान बाहिर छन् ।
कार्भाजल करिब एक महिना मैदान बाहिर रहने देखिएको छ । उनी स्पेनिस सुपर कपमा मैदान फर्कने आश क्लबले गरेको छ । रियल मड्रिडले स्पेनिस सुपर कपको सेमिफाइनलमा जनवरी १० मा एट्लेटिको मड्रिडसँग खेल्दैछ ।
रियल मड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा रहेको छ । १५ खेलमा रियलले ३८ अंक बनाएको छ । गिरोना दोस्रो स्थानमा छ ।
रियलले समूह विजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा समेत स्थान बनाएको छ ।