काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा झापा एफसी र पोखरा थन्सर्डले बराबरी खेलेका छन् ।
अन्तिम मिनेटमा गोल गर्दै झापाले पोखरालाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।
बराबरीको नतिजासँगै झापाले प्रतियोगितामा एक अंक जोडेको छ भने पोखरा शीर्ष स्थानमा उक्लिनबाट रोकिएको छ ।
झापाका लागि खेलको अन्तिम मिनेटमा समन्दर ओचिलोवले बराबरी गोल गरे । पोखराका गोलकिपर प्रिसोबाट फर्किएर आएको बललाई समन्दरले पोस्टको दिशा दिएका थिए ।
खेलको अन्तिम मिनेटमा पोखरामाथि दबाब बनाएको झापाले बराबरी गोलनै गर्न सफल रह्यो ।
दोस्रो हाफमा झापाका कप्तान अन्जन विष्टको सटिक हेड प्रहारलाई प्रिसोले बचाएका थिए । खेलको ७० औं मिनेटमा टाउकोमा समस्या देखिएपछि अन्जन विष्टले मैदान छाडेका थिए ।
खेलमा अग्रता पोखराले १९ औं मिनेटमा मोसिस टवामको गोलमा लिएको थियो । जोए आइडोको निकालेको क्रममा मोसिसले उत्कृष्ट हेड प्रहार गर्दै गोल गरेका थिए ।
खेलको अन्तिम मिनेटमा पोखराका कमल थापा रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।
पोखराले ३ खलबाट ५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तालिकाको पुछारदेखि तेस्रोमा रहेको झापाले २ खेलबाट १ अंक जोडेको छ ।