काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको छ ।
दशरथ रंगशालामा शुक्रबार भएको खेलमा धनगढीले लुम्बिनीलाई १-० ले हराएको हो ।
धनगढीको जितमा ओलावले अफिजले विजयी गोल गरे । बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा अफिजले गोल गरेका हुन् ।
अहमद इजाजीले मैदानको मध्य भागबाट निकालेको पासमा अफिजले सुन्दर गोल गरेका थिए ।
खेलको सुरुवातमा बुटवलका कप्तान एरिक विष्टको फ्रिकिकलाई धनगढीका गोलकिपर मोहमद टाहाले मुस्किलले जोगाएका थिए । एरिककै कर्नर किकमा जिलेस्पी जंग कार्कीको हेडर प्रहार धनगढीका डिफेन्सले गोल लाइनबाट बचाएका थिए ।
लगत्तै धनगढीका अहमेद इजाजीको क्रसमा डिबक्समा रहेका अभिषेक गुरुङको हेड प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । पहिलो हाफमा बुटवलले धनगढीमाथि दबाब बनाएपनि दोस्रो हाफमा खेलाडी परिवर्तन गरेसँगै धनगढीले खेलमा विस्तारै प्रभाव जमाएको थियो ।
गोलकर्ता बनेका अफिज सहित डियाग्ने, सन्दीप पौडेल मैदान छिरेपछि धनगढीले लगातार बुटवलमाथि आक्रमण बुनेको थियो । इन्जुरी समयमै अफिज वान भर्सेस वानमा गोल गर्न चुकेका थिए । तर दोस्रो पटक इजाजीले निकालेको उत्कृष्ट पासमा उनले अघि बढेका गोलकिपरको बिचबाट बललाई पोस्टको दिशा दिएका थिए ।
दोस्रो हाफमा आशिष लामाको उत्कृष्ट क्रसमा डिबक्सभित्र रहेका स्टेफन बियोङ र निराजन धामीले खाली पोस्टमा टच दिन चुकेका थिए । खेलको अन्तिम मिनेटमा अनमार्क आशिषले डिबक्सबाट प्रहार गरेको बल पोस्ट बाहिर बतासिकेको थियो ।
धनगढी लगातार दोस्रो जित सहित लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । धनगढीले २ खेलबाट ६ अंक जोडेको छ । बुटवल लगातार दोस्रो खेलमा पराजित बनेको हो । बुटवल प्रतियोगितामा अंक विहीन छ ।