काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाईटेडलाई नकआउट चरण पुग्न गाह्रो देखिएको छ ।
बुधबार गलातासारेसँग ३–३ गोलको बराबरी खेलेपछि युनाईटेडको अन्तिम १६ को यात्रा कठिन बनेको हो ।
युनाईटेडका लागि यस खेलका भिलेन आन्द्रे ओनाना रहे । उनले खेलमा आत्मविश्वास देखाउन नसक्दा युनाईटेडले इस्तानबुलमा बराबरी खेल्दै अंक बाँड्न पर्यो ।
खेलको सुरुवात पाहुना टोली युनाईटेडका लागि सुखद रह्यो । गर्नाचो र ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडले सुरुवातमै २–० को अग्रता दिलाएका थिए ।
ओनानाको कमजोर प्रर्दशनमा हाकिम जियाचले २९ औं मिनेटमा फ्रिकिकमार्फत घरेलु टोलीले ब्यहोरेको गोलको अन्तरलाई कम गराएका थिए । दोस्रो हाफ सकिएको १० मिनेटपछि स्काट मेकटोमिनेले युनाईटेडका लागि गोल गर्दै अन्तरलाई ३–१ मा पुर्याएका थिए ।
पुन ओनानाको गल्तीको फाइदा उठाउँदै गलातासारेका जियाचले फ्रिकिकमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै अन्तरलाई ३–२ मा झारेका थिए । खेल सकिन १९ मिनेट अघि बेन्चबाट मैदान छिरेका केरेम एक्टुरकोग्लुले घरेलु टोलीका लागि बराबरी गोल गरे ।
नाटकीय खेलको अन्तिममा गलातासारेका विल्फ्रेड जाहाले सुन्दर अवसर खेर फालेका थिए । टर्किस क्लबसँग बराबरी खेल्दै युनाईटेड च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने समिकरणलाई आफ्नो हातबाट बाहिर पुर्याएको छ ।
सोही समूहको अर्को खेलमा एफसी कोपनहेगनले शीर्ष स्थानको बायर्न म्युनिखसँग गोल रहित बराबरी खेल्दै महत्वपुर्ण एक अंक बटुल्यो । यस समूहबाट नकआउट चरण पुग्ने दोस्रो टिमको छिनोफानो अन्तिम खेलबाट लाग्नेछ ।