काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार पुनरागमन गरेको छ ।
समूह जीको खेलमा सिटीले जर्मन क्लब आरबी लाईपेजिगमाथि ३–२ को पुनरागमन जित रचेको हो ।
पहिलो हाफमा २–० ले पछि परेको नतिजालाई उल्ट्याउँदै सिटीले दोस्रो हाफमा तीन गोल गरेको हो ।
सिटीको जितमा एर्लिङ हालान्डले च्याम्पियन्स लिगमा ऐतिहासिक रेकर्ड कायम राखे । उनी प्रतियोगितामा सबैभन्दा चाँडो ४० गोल पुरा गर्ने पहिलो खेलाडी बने । उनले मात्र ३५ खेलमा यो कोशेढुङ्गा पार गरेका हुन् ।
समूह जीबाट सिटीले यसअघिनै नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।
खेलको ४० मिनेट हेर्दा २८ खेलसम्म युरोपियन प्रतियोगितामा घरेलु मैदानमा पराजित नभएको रेकर्ड समाप्त हुने संकेत देखिएको थियो । तर दोस्रो हाफमा आफुलाई पुरै परिवर्तन गर्दै सिटीले जितको नतिजा निकाल्न सफल रह्यो ।
दोस्रो हाफमा जुलियन अल्भारेज र जेरोमी डोकोलाई मैदान उतारेपछि खेलको ब्यापक सुधार देखिएको थियो ।
खेलको ५४ औं मिनेटमा फिल फोडेनको पासलाई सदुपयोग गर्दै हालान्डले पहिलो गोल गरे । उनै फोडेनले ७० औं मिनेटमा घरेलु टोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । खेल सकिन तीन मिनेट अघि अल्भारेजले गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए ।
बेल्जियन फरवार्ड लोइस ओपेन्डाले पहिलो हाफमा दुई गोल गर्दै आरबी लाइपेजिगलाई पहिलो हाफमा २–० ले अघि बढाएका थिए । तर प्राप्त अग्रतालाई जोगाउन नसक्दा जर्मन क्लबले हार ब्यहोर्यो ।
सोही समूहको अर्को खेलमा योङ्ग ब्वाइले रेड स्टार बेलग्रेडलाई २–० ले हराउँदै तीन अंक जोड्यो । यसै समूहबाट दुवै टिम नकआउट चरण पुगिसकेका छन् । एक खेल खेल्न बाँकी रहेको समूहमा सिटीको १५ र लाइपेजिगको ९ अंक छ । योङ्ग ब्वाईसको ४ र रेड स्टार बेलग्रेडको १ अंक छ ।