काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा एफसी चितवनले काठमाडौं रेजर्ससँग बराबरी खेलेको छ ।
मंगलबार दशरथ रंगशालामा चितवनले काठमाडौंसँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको अन्तिम समयमा प्राप्त अग्रतालाई जोगाउन नसक्दा चितवनले काठमाडौंसँग अंक बाँडेको छ ।
खेल सकिन ३ मिनेट अघि कोमिलोव तोजिदिनोवको आत्मघाति गोलमा चितवनले खेलमा अग्रता लिएको थियो ।
चितवनका फरवार्ड बिमल घर्तिमगरको क्रसलाई क्लियर गर्ने क्रममा तोजिदिनोवले आत्मघाति गोल गर्न पुगेका थिए ।
तर इन्जुरी समयमा जुनियर ओग्नगुइन एनकेग्युले डिबक्स लाइनबाट सुन्दर गोल गर्दै काठमाडौंलाई अंक दिलाउन सफल रहे । उनले भली प्रहारमा चितवनका गोलकिपर विशाल श्रेष्ठ समेत मुखदर्शक जस्तै बने ।
प्राप्त अंकले काठमाडौंलाई अंक तालिकामा अग्रता लिने अवसर मिलेको छ । सोमबार काठमाडौं लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शीर्ष स्थानको काठमाडौंको २ खेलबाट ४ अंक भएको छ । चितवनले लिग तालिकामा एक अंक जोडेको छ ।