एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत आज (आइतबार) चार खेलहरु संचालन हुँदैछ । प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड जस्ता क्लबहरुले प्रतिस्पर्धा गर्दैछन् ।
आइतबार हुने पहिलो खेलमा चेल्सीले क्रिष्टल प्यालेससंग प्रतिस्पर्धा गर्दैछ । क्रिष्टलको मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुका ५:४५ मा सुरु हुनेछ ।
किश्तकविरुद्ध मैदान उत्रदा चेल्सी जित निकाल्दै शीर्ष तीन टोलीविरुद्ध अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछ । चौथो स्थानको चेल्सीको ४० अंक छ ।
यस्तै साबिकको विजेता म्यानचेस्टर सिटीले साउथह्याम्पटनसंग खेल्दैछ । साउथह्याम्पटनको मैदानमा हुने खेल बेलुका ८ बजे सुरु हुनेछ ।
अघिल्ला दुई खेलमा पराजित सिटी साउथह्याम्पटनलाई हराएर उपाधि होड कायम राख्न चाहन्छ । यस्तै लिगको तेस्रो स्थानमा रहेको सिटीलाई दोस्रो स्थानमा उक्लने मौका समेत छ ।
सिटीको १९ खेलबाट ४४ अंक छ । र, सिटी शीर्ष स्थानको लिभरपुल भन्दा १० अंकले पछि छ । दोस्रो स्थानको टोटेनहमभन्दा १ अंकले पछि छ ।
बेलुका ८ बजे नै हुने अर्को खेलमा बर्नली र वेष्ट ह्याम युनाइटेडले प्रतिस्पर्धा गर्दैछ ।
यस्तै प्रिमियर लिग अन्तर्गत आइतबार म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा बर्नेमाउथसंग खेल्दैछ । खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुनेछ ।
पछिल्ला दुई खेलमा जित निकालेको युनाइटेड बर्नेमाउथलाई हराएर शीर्ष टोलीविरुद्ध अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछ । युनाइटेड ३२ अंक जोडेर लिगको छैटौं स्थानमा छ ।