धनगढी । नाज ओभरसिज पिएफए अत्तरीयाले चौथो संस्करणको फारवेष्ट पशुपति कप फुटबलको उपाधि जितेको छ ।
धनगढी रंगशालामा शनिबार भएको फाइनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई पेनाल्टी सुटउआउटमा ५ - ३ गोल अन्तरले हराउँदै अत्तरिया च्याम्पियन बनेको हो । योसंगै अत्तरियाले फारवेष्टसंग तेस्रो संस्करणको फाइनलमा व्यहोरेको बदला लिएको छ ।
उपाधिसंगै अत्तरियाले चार लाख सहित ट्रफी हात पारेको छ । उपविजेता बनेको फारवेष्ट पशुपतिले दुई लाखमा चित्त बुझाएको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा फारवेष्ट पशुपतिका महेश चन्द जोजोको प्रहार बाहिरिएका कारण आयोजक विजेता बन्नबाट चुकेको हो । फारवेष्टका लागि भिष्म भाट, कृष्ण कठायत र दिपेन्द्र वुढाले गोल गरे । नाज ओभरसिज पिएफएलाई उपाधि जिताउने क्रममा मिलन भट्ट, दिपेश आलेमगर, सन्तोष कार्की, वादल पाख्रीन र आशिष क्षेत्रले पेनाल्टी प्रहारलाई गोलमा परिणत गरे ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी फारवेष्ट पशुपतिका भिष्म भाट भए । उनले नगद १५ हजार हात पारे । त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलरक्षक फारवेष्टका प्रितम खड्का, उत्कृष्ट रक्षक फारवेष्टकै कृष्ण कठायत, उदयमान खेलाडी पिएफए अत्तरीयाका अशोक चौधरी र सर्वाधिक गोलकर्ता पिएफए अत्तरीयाकै आशिष श्रेष्ठ भए । सवै विधाका उत्कृष्ट खेलाडीहरुलाई जनही १०/१० हजार प्रदान गरिएको छ ।
विजयी खेलाडीहरुलाई सुदुरपश्चिम सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले सिल्ड ट्रफी तथा प्रमाण पत्र प्रदान गरे । प्रतियोगिताको चौथो संस्करणमा देशका विभिन्न स्थानका १६ टीमको सहभागीता रहेको थियो ।