पोखरा । एलजी एसोसियसनले दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन 'ए' साइड फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
विष्णुपादुका क्लब हेमजाको आयोजनामा शनिबार भएको फाइनलमा तारा एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ को गोल अन्तरले पराजित गर्दै एलजीले उपाधि जितेको हो ।
पेनाल्टीमा तारा एफसीका कप्तान रोशन हिराचनले प्रहार गरेको बल एलजीका गोल रक्षक रामबहादुर कार्कीले बचाउ गरेपछि तारा उपविजेतामा चित्त बुझाउन बाध्य बनेको थियो । एलजीको तर्फबाट रमेश मगर, सुलेमान मगर, र कृष्ण गुरुङले गोल गरे । ताराका बिनोद गुरुङ र गोविन थापाले गोल गरे ।
उपाधिसंगै एलजीले नगद १ लाख ११ हजार १ सय ११ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । तारा एफसीले नगद ५५ हजार ५ सय ५५ रुपैया ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
प्रतियोगिताको सेमिफाइनलमा पुगेका विटी एफसी र एकता लालिगुँरासले १०/१० हजार प्राप्त गरे । त्यसैगरी अनुशासित टिम दिव्य दिष्टृ क्लबले नगद १० हजार ट्रफी प्राप्त गर्यो । प्रतियोगिताको सर्बोकृष्ट खेलाडी एलजीनका कृष्ण गुरुङ घोषित भए । उनले नगद ५ हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।
त्यस्तै प्रतियोगितामा सर्वाधिक गोल कर्ता वि–१३ वाझाँपाटनका अभिनाष तामाङ, उत्कृष्ट गोल रक्षकमा एलजीका रामबहादुर कार्की, उत्कृष्ट मिडफिल्डरमा तारा एफसीका गोविन थापा, उत्कृष्ट डिफेन्डरमा एलजीका युनिक तामाङ र उत्कृष्ट फरवार्डमा तारा एफसीका विनोद गुरुङ घोषित भए । उनीहरुले नगद ३/३ हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।
विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा भएको प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको थियो ।
विजेता खेलाडीहरुलाई प्रमुख अतिथि तथा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले पुरस्कृत गरे ।