काठमाडौं । साविकको विजेता त्रिभुवन आर्मी क्लबलाई धनगढीमा आयोजना हुने तेस्रो संस्करणको खप्तड गोल्डकपमा प्रतिबन्ध लागेको छ ।
आयोजक सुदुरपश्चिम ११ स्पोर्ट्स क्लबले शनिबार आयोजित पत्रकार सम्मेलनमा आर्मीलाई प्रतिबन्ध गरेको जनाएको छ ।
आर्मीका खेलाडीले सुदूरपश्चिमका खेलाडीलाई दुर्व्यवहार गरेको भन्दै आयोजकले आर्मीलाई प्रतिबन्ध लगाएको हो । आर्मीले गत वर्ष सर्लाहीमा सम्पन्न राजश्री गोल्डकपमा सुदूरपश्चिमका खेलाडीलाई दुर्व्यवहार गरेका थिए ।
'आर्मीले राजश्री गोल्डकपमा हाम्रा खेलाडीहरुलाई कुटपिट गरेको छ । हामीले सम्मान गरेको क्लबले हाम्रा खेलाडीलाई मैदान कुटेको छ,' क्लबका अध्यक्ष सुरेश हमालले, 'त्यसैले यसपटक क्लबले आर्मीलाई प्रतिबन्ध गर्ने निर्णय गरेका छौ।'
तेस्रो संस्करणको प्रतियोगिता आगामी पुस २४ बाट माघ ५ गतेसम्म धनगढीमा सञ्चालन हुदैछ । प्रतियोगितामा 'ए' डिभिजन लिगका र भारतको गरि १२ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा रुस्लान थ्री स्टार, सि.एम.जी संकटा, गोर्खा ब्वाईज रुपन्देही, नेपाल पुलिस क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर, एपीएफ, दिल्ली युनाईटेड भारत, च्यासल क्लब र आयोजक सुदूरपश्चिम ११ सहित १२ टिमको सहभागिता जनाउने छन् ।
सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।