पोखरा । मोफसलको प्रतिष्ठित प्रतियोगिता आहा ! रारा गोल्ड कप फुटबलको १७ औं संस्करण आगामी फागुन दोस्रो साताबाट आयोजना हुने भएको छ ।
आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ९ गते देखी १८ गतेसम्म आयोजना हुने जानकारी गराएको हो ।
'खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं' नाराका साथ आयोजना हुने प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विदेशी, 'ए' डिभिजनका क्लबहरु, पुर्व र पश्चिम क्षेत्र टिमहरु र आयोजक सहारा क्लब पोखरा रहनेछन ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा प्रतियोगिता पोखरा रंङ्गशालामा हुनेछ । पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर उपलब्ध गराउँनु प्रतियोगिताको उद्देश्य रहेको आयोजकले जनाएको छ ।
विगत १७ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुने रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । 'आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं' भन्ने उद्येश्यका साथ २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापति क्लबको एकेडमीमा हाल तेश्रो व्याचमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ । यस्तै प्रतियोगितामा रेडबुलको सह प्रायोजक, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा, एक्स टेप अफिसियल स्र्पोट वयर, अफिसियल बैंक लुम्बिनी विकास बैंक, अफिसियल एयरलाईन्स बुद्ध एयर, अफिसियल ड्रिङ्ग वाटर ईको पानी, कोकाकोला, एल. जि. टि. भि. र सानमिगलको साथ रहेको छ ।
त्यस्तै पोखरा महानगरपालिकाको संयोजन, नेपाल पर्यटन बोर्डको प्रवर्दनमा हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति,जिल्ला खेलकुद विकास समिति कास्की,कास्की जिल्ला फुटबल संघ, सहारा यु.के., सहारा हङ्गकङ्ग, सहारा अष्ट्रेलिया लगायत सस्थाको सहयोग रहेको छ ।
आयोजकले प्रतियोगिताका दौरान राजनैतिक दल, भातृ संगठन, संघ संस्था, व्यवसायी एवं खेलकुद प्रेमीहरुबाट महत्वपुर्ण सहयोगको अपेक्षा र सदभावको आशा राख्दै प्रतियोगिता अवधिभर बन्द, हडताल, चक्काजामको कार्यक्रम नराखिदिन समेत आग्रह गरेको छ ।