काठमाडौं । तेस्रो संस्करणको खप्तड गोल्डकपलाई सिजीको नेपाल आईसले मुख्य प्रायोजन गरेको छ ।
घरेलु फुटबलको सर्वाधिक ठुलो धनराशीको नकआउट प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा नेपाल आईसले निरन्तरता दिने भएको हो । गत बर्षको दोस्रो संस्करणमा समेत नेपाल आईसले प्रतियोगितामा मुख्य प्रायोजन गरेको थियो ।
प्रतियोगिता पुस २४ बाट माघ ५ गतेसम्म सुदुर प्रदेशमा सञ्चालन हुदैछ । काठमाडौंमा शनिबार एक कार्यक्रमकाबीच सिजीको प्रतिनिधि प्रदीप पुडासैनी र आयोजक सुदुरपश्चिम ११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
दुवै पक्षले सम्झौताको रकम भने खुलाउन चाहेनन् ।
‘प्रायोजनको रकम ठुलो छ । तर प्रायोजक पक्षले रकम नखुलाउन आग्रह गरेको छ । रकम भन्दा पनि प्रायोजन ठुलो हो ।’ आयोजक क्लबका अध्यक्ष हमालले पत्रकार सम्मेलनमा भने ।
प्रतियोगितामा ए डिभिजन लिगका क्लब सहित भारतको टिमले समेत सहभागिता जनाउनेछ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको अनुमानित बजेट १ करोड ४० लाख रहेको छ ।