धनगढी । चौथो संस्करणको फारवेष्ट पशुपति कप फुटबलको उपाधिका लागि आयोजक फारवेष्ट पशुपति युवा क्लब र नाज ओभरसिज पिएफए अत्तरीया क्लब भिड्ने भएका छन् ।
धनगढी रंगशालामा शुक्रबार भएको सेमिफाईनलमा जित हात पार्दै दुवैले टोलीले उपाधि भिन्दत पक्का गरेको हो । दुई टोली यस प्रतियोगिताको फाइनलमा लगातार दोस्रो पटक भिड्न लागेका हुन् । गत बर्ष आयोजक फारवेष्टले अत्तरीयालाई नै हराएर उपाधि जितेको थियो ।
शुक्रबार भएको पहिलो सेमिफाईनलमा अत्तरीयाले बलियो प्रतिद्धन्द्धी सुदुरपश्चिम–११ स्पोर्टस क्लबमाथि २–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । अत्तरीयाको जितमा आशिष श्रेष्ठले दुई गोल गरे । सुदुरपश्चिमका चेत चौधरीले एक गोल फर्काए ।
यस्तै दोस्रो सेमिफाईनलमा आयोजक फारवेष्टले सहारा युवा क्लब पहलमानपुरलाई १–० ले हरायो । फारवेष्टका लागि कमल देउवाले निर्णयक गोल गर्दै टोलीलाई फाइनलको यात्रा तय गराउन सफल भए ।
प्रतियोगिताको विजेताले नगद चार र उपविजेताले नगद दुई लाख पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद १५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले नगद १० हजार पुरस्कार पाउने छन् ।