काठमाडौं । ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्मानित भएका छन् ।
नेपाली टोलीलाई शुक्रबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले सम्मानित गरेको हो ।
एसियन छनोटमा उच्च प्रदर्शन गरेको भन्दै खेलाडी संघले 'एनएनआईपीए बर्ष उत्कृष्ट खेलाडी’ अवार्ड घोषणाको दौरान महिला टोलीलाई सम्मान गरेको हो । यस्तै संघले यस सम्मानले दोस्रो चरणको छनोटमा नेपाली टोलीको हौसला बढ्ने विश्वास गरेको छ ।
म्यानमारमा गत कार्तिकमा सम्पन्न पहिलो चरणको एसिया छनोटबाट नेपाली टोलीले दोस्रो चरणको लागि स्थान पक्का गरेको थियो ।
सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि भएको छनोटमा नेपालले तीन खेलमा बराबरी खेल्दै दोस्रो चरणमा स्थान पक्का गरेको थियो । यो नेपाली महिला फुटबलको ऐतिहासिक सफलता हो ।
छनोटको समूह 'सी' मा रहेको नेपालले ३ खेलबाट ३ अंक जोडेको थियो । नेपाल समूहको तेस्रो स्थानमा रहन सफल भएको थियो । समूहको तेस्रो स्थानमा रहेसंगै नेपालले छनोटको तेस्रो हुने टोलीमध्ये उत्कृष्ट दुईमा पर्दै दोस्रो चरणमा स्थान बनाएको हो ।
छनोट प्रतियोगिताको नियम अनुसार प्रत्येक समूहका विजेता, उपविजेता र तेस्रो हुने टिममध्ये उत्कृष्ट दुई टिमले समेत दोस्रो चरणको यात्रा तय गर्ने प्रावधान रहेको थियो ।
दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ । १० टिम रहने दोस्रो चरणबाट तीन टोली तेस्रो चरणमा स्थान बनाउनेछ । तेस्रो चरणमा ८ टोलीको सहभागिता रहनेछ ।