एजेन्सी । घरेलु टोली अष्ट्रेलिया र भारतबीचको तेस्रो टेष्ट क्रिकेटको तेस्रो दिन शुक्रबार १५ विकेट झरेको छ । भारत र अष्ट्रेलियाका बलर चम्किएपछि मेलबर्न टेष्टको तेस्रो दिनको समाप्तिमा १५ विकेट खसेको हो ।
मेलबर्न क्रिकेट मैदानमा शुक्रबार भारतका जस्प्रित बुम्रहाले ३३ रन खर्चेर ६ विकेट लिएपछि अष्ट्रेलिया पहिलो इनिङसमा १५१ रन जोड्दा अलआउट भएको छ ।
भारतले ४४३ रन जोडेर इनिङस समाप्तिको घोषणा गरेपछि बिहिबार पहिलो इनिङ सुरु गरेको अष्ट्रेलिया शुक्रबार सस्तैमा समेटियो ।
अष्ट्रेलियाका टिम पेइन र मार्कुस ह्यारिसले समान २२/२२ रन जोडे । यस्तै उस्मान ख्वाजाले २१ रन बनाए भने टिम हेडले २० रन जोडे । भारतका लागि रविन्द्र जडेजाले थप २ विकेट लिए ।
अष्ट्रेलियालाई सस्तैमा समेटेर दोस्रो इनिङस थालेको भारतले पनि खराब सुरुवात गरेको छ । तेस्रो दिनको खेल सकिदा भारतले २७ ओभरमा ५ विकेट गुमाएर ५४ रन जोडेको छ ।
अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिएपछि भारतको इनिङ धरासायी बनेको हो । भारतका मयंक अग्रवाल ३८ रन जोडेर क्रिजमा छन् ।
दोस्रो इनिङस खराब ब्याटिङ गरेपनि भारतले तेस्रो दिनको खेल समाप्तिमा ३४६ रनको अग्रता बनाएको छ ।