एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले यस वर्षको बालोन डी'ओर अवार्ड आफुले नजित्ने पहिले नै थाहा भएको बताएका छन् ।
अर्जेन्टिनाका कप्तान समेत रहेका मेस्सीले स्पेनिस पत्रिका मार्कासंग कुरा गर्दै यस पटक आफु अवार्डका लागि हकदार नभएको कारण आफुले नजित्नेमा ढुक्क रहेको बताएका हुन् ।
यस्तै मेस्सीले बालोन डी'ओर आफुले नजित्ने पक्का रहेको कारण अवार्ड घोषणा हुँदा कुनै आश्चर्य नलागेको समेत बताए ।
'यदि म इमान्दार भएर भन्ने हो भने मैले यसका लागि धेरै महत्व दिन्न तथापी यो ठुलो पुरस्कार हो,' मेस्सीले भनेका छन्, 'मलाई थाहा थियो कि यस सिजन मिले जित्ने छैन । त्यसैले मलाई आश्चर्य लागेन ।'
यस सिजन क्रोएसियाका प्ले मेकर लुका मोड्रिचले बालोन डी'ओर जितेका थिए । रियल मड्रिडका मोड्रिचले मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई नै पछि बनाएका थिए ।
मोड्रिचले पछिल्लो १० बर्षबाट रहदै आएको मेस्सी र रोनाल्डोको अधिपत्य अन्त्य गर्दै यस अवार्ड जितेका थिए । मेस्सी र रोनाल्डोले समान ५/५ पटक यस अवार्ड जितेका छन् ।