काठमाडौं । एएफसी कप फुटबलमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले नेपालको प्रतिनिधित्व गर्ने भएको छ ।
राजधानीमा जारी पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उपाधि जितेसंगै मनाङले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने भएको हो । नेपालबाट अघिल्लो पटक थ्री स्टारले प्रतिस्पर्धा गरेको थियो ।
मनाङले बिहिबार संकटा क्लबलाई ३ - १ ले हराउदै उपाधि जितेको थियो । दुई खेल अगाबै उपाधि जितेको मनाङले लिगमा कीर्तिमानी आठौं पटक कब्जा समेत जमाएको हो ।
एएफसी कप फुटबलको समूह चरणमा मनाङ समूह 'ई' मा रहेको छ । एसियन फुटबल फेडेरेसन एएफसीले गत महिना नै समूह चरणको 'ड्र' सार्वजनिक गरेको थियो ।
एएफसीले निकालेको ड्र अनुसार नेपालको 'ए' डिभिजन लिग विजेता मनाङ समूह 'इ' मा परेको हो । यस समूहमा भारत, बंगलादेश र प्ले अफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
भारतबाट भने मिनेर्भा पन्जाबले खेल्ने छन् । यस्तै बंगलादेशबाट ढाका अब्भानीले खेल्नेछ । प्ले अफबाट आउने एक टोलीको भने तय भएको छैन ।
समूह चरणको खेलहरु आगामी अप्रिलमा सुरु हुनेछ । एएफसी कपमा हरेक राष्ट्रको शीर्ष डिभिजनको लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन् ।