काठमाडौं । नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बुधबार मंगोलियासँग खेल्दैछ ।
नेपाल र मंगोलियाबीचको खेल नेपाली समय अनुसार बुधबार बिहान पौने ७ मा सुरु हुनेछ ।
नेपालसँगको खेलसँगै मंगोलिया पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्नेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले मंगोलियालाई २०२१ मा एसोसिएट टोलीको मान्यता दिएको थियो ।
समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो तथा अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
समूह ए को शीर्ष स्थानमा रहे नेपालले क्वाटरफाइनलमा स्थान बनाउने छ ।
क्वाटरफाइनलमा एसियाका शीर्ष वरीयतामा रहेका बंगलादेश, भारत, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाले स्थान बनाई सकेका छन् ।
एकदिवसीय विश्वकपको कारण सबै टेस्ट टोलीले आफ्नो दोस्रो रोजाईको टोली पठाएका छन् ।
क्वाटरफाइनलमा समूह ए, बी र सी बाट शीर्ष तीन टोली आउनेछन् ।
ड्रबाट क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । नेपाली क्रिकेट टोली आइतबार नै चीनतर्फ लागेको छ ।
नेपालको टोली :
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी