एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा दोस्रो स्थानमा नापोली पराजित भएको छ । बुधबार राति भएको खेलमा नापोली इन्टर मिलानसंग १ - ० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा इन्टर मिलानलाई जित दिलाउन सब्सिच्युड खेलाडी लौटारो मार्टिनेज नायक बने । ९ खेलाडीमा समेटिएको नापोलीविरुद्ध मार्टिनेजले खेलको अन्तिम समयमा निर्णायक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा दोस्रो मिनेटमा मार्टिनेजले हेड गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए । मार्टिनेज खेलको ८३ औं मिनेटमा जोआ मारियोको स्थानमा मैदान छिरेका थिए ।
यस्तै खेलको ८१ औं मिनेटमा कलिडो कुलिबाली र इन्जुरी समयमा लोरेज्नोले रातो कार्ड पाएपछि नापोली ९ खेलाडीमा समेटिएको थियो ।
घरेलु मैदानमा साँघुरो जितसंगै तेस्रो स्थानको इन्टरले १८ खेलबाट ३६ अंक जोडेको छ । र, नापोलीविरुद्ध अंक दुरी कम गरेको छ । पराजित नापोलीले भने शीर्ष स्थानको युभेन्ट्ससंग अंक दुरी कम गर्ने मौका गुमाएको छ । नापोलीको ४१ अंक छ ।